*** तिनाउको बगरै बगर ( कथा ) ***
"पुषको ठण्डी मास,छिट्टै झमक्क साँझ परिहाल्छ । तराईको ठाउँ दिनभर पनि घाम लागेन।बिदाको दिन भनेर के गर्नु ? कतिबेला घाम झुल्केला भनेर पर्खदा पर्खदै दिन घर्केको पत्तै पाइन। लौ हेर सब्जी पनि सकिएछ।"
सन्ध्या यस्तै यस्तै के के भन्दै भान्छा तयार पार्दै थिइन् । उसैको छोरो अनमोल मेरो छेऊमा बसेर थरिथरिका रङ्गिन कलम लिएर बिभिन्न आकारहरु बनाउदै थियो।घरिघरि आफ्नी आमालाई चित्र देखाउथ्यो । सन्ध्या फुरुङ्ग पर्दै भन्थी-आहा! कति सुन्दर,ठ्याक्कै मेरो अनमोल जस्तै । त्यतिबेला अनमोलको चेहेरामा झल्किएको खुसी देखेर पुलकित हुँदै म उसलाई झनै हौस्याउथेँ ।
'सुन्यौ स्वप्निल,सब्जी सकिएछ।'
सन्ध्या मपट्टि फरक्क फर्केर प्रतिकृया पर्खिरहेकी थिइ। म चुपचाप उठेर तल पसलमा गएर केही सब्जी लिइ आए। अनमोल आफ्नो कार्यमा अझै ब्यस्त थियो।
साँझको छ बज्न लाग्दै थियो। सन्ध्याले भान्छा तयार पारिसकेकी थिइ।अनमोलको काम अझै जारी थियो।सन्ध्याले उसका किताब कापी बटुलेर भनी -ल म खाना लगाउछु।
'मम्मी आज अण्डा खाने भनेको हैन?'