" बोक्सी " सामाजिक कथा !!
आफु जन्मी खेली हुर्किएको बाग झैं लाग्ने ति बस्ती आज जीवनको उतार्दामा मसानघाटको आकृतिमा आफ्नै नजर सामु मुस्कुराई रहेको आभाष लाग्छ । खै कसरि व्यक्त गरौँ यी समाज र ढडेन झैं लाग्ने मेरो मनको कथा व्यथा ।हो साँच्चै कुनै ढडेन भन्दा कम छैन मेरो मन भनौ जीवन । जहाँ कुनै फूलहरु मुस्कुराउँदैन। तर..तर सबै भोग्न,हेर्न अनि बाँच्न विवश छु ।
१५ औं बसन्त पार नगर्दै मेरो वैवाहिक जीवन शुरुवात भो । बैशालु उन्मात र लाली नपोतेको स्थितिले होला म त्यति खेर फिक्का थिएँ न कुनै रुप रंग नै थियो न कुनै ज्ञान नै थियो त मात्रै चंचलता । शायद दिन बित्दै जाँदा ऋतुहरु फेरे झैं मेरो सम्पूर्णता फेर्दै गयो क्यारे,१४,१५,१६ हुँदै म मा नयाँ रुप रंग र रहरहरुले बास गर्दै गयो । । जन्मिएको घर र कर्म घरको दुरी ३ घण्टा पैदल यात्रा लाग्थ्यो । उमेरले म १४ वर्ष को भए पनि मलाई एक २५ बर्षे केटो संग विवाह गरिदिनुभएको थियो मेरा बाउ आमाले । पहाडी क्षेत्र एउटा जमिन्दारको छोरा संग विवाह गर्न पाउनु नै मेरो बाउ आमाको अहोभाग्य हो सम्झिनुभो क्या रे मेरो बाबु आमा निक्कै खुशी हुनुहुन्थ्यो । ६ कक्षामा पढ्दै गरेको अवस्थामा कसैको दुलही बनेर सोह्र शृङ्गार गरेर चिटिक परेर जान पाउँदा म नि खुशी नभएको कहाँ हो र !