रात्री बसको यात्रा ( कथा )

आफ्ना सेता दन्त लहरहरु फिँजाई अटल रुपमा रहेका अग्ला अग्ला चुचुराको काखमा हरियो वनजङ्गलले घेरिएका ठुल्ठुला पहाडबाट वहकिएको भेषमा सुईसुई सुस्काउदै बगेको कलकल झरनाको साथ दिई रहेकी, त्यी हरिया डम्म पहाडको टुप्पोबाट कुहुकुहु आवाज निकाली रहेकी कोईली चरी, सिरिसिरि वतासको वेग संगैको त्यो प्राकृतिको उपमा भित्र हरेक उकाली ओराली डाँडा काँडा भञ्ज्याङ चौतारी अनि हरेक घुम्तीमा पर्ने, समथर खेतका लहलह झुलेका धानको वाला झै हामी पनि रात्री बसको यात्रामा झुमिरहेका थियौं।
हरियाली पहाडमा राज गरेको चिसो वतास संगै बढारिदै, सुस्काउदै बगेको नदीसंग मितेरी लाउदै हामी यात्रा अगाडी बढाई रहेका थियौं। प्राकृतिक सुन्दरताले भरिपुर्ण हाम्रो देश यातयात सुविधाको लागी अग्ला अग्ला काला पहाड खोपेर त ठुल्ठुला खोँच पुरेर उकाली ओराली नदीको किनारै किनार अनि धानको वाला लहलह झुलीरहेको खेतको बिचबिचमा कालो पत्रे सडक हुँदै अगाडी बढिरहेको हाम्रो यात्रामा हरेक गाँउ बस्ती र शहरको पनि राम्रो अवलोकन गर्ने मौका मिलिरहेको थियो त सोही यात्रामा विभिन्न ठाँउका महिला,पुरुष,बालक,वृद्ध,सज्जन,दुर्जन,असाहय गरिब,धनी,आदी आदी व्यक्तिहरु संगको हातेमालोमा हाम्रो यात्रा अझ रोचक र रौनक बनेको थियो।